November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानन्यायाधीशलाई शम्भु थापाको सुझाव- श्रीमान विदामा बस्नुस्

काठमाडाैं- वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिदामा बस्न सुझाव दिएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएकोप्रति उठेको प्रश्नमा जारी बहसका क्रममा उनले उक्त सुझाव दिएका हुन्।

कानुन व्यवसायीले न्यायाधीश श्रेष्ठमाथि प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले आफ्नो विकल्प दिन भनेका थिए। त्यसको जवाफमा वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश राणालाई बिदामा बस्न सुझाव दिएका हुन्।

Advertisement

‘उहाँको विकल्प नभएको होइन। यहाँसम्म नेकपा विवादबाटै आएको हो। आज यहाँ माधव नेपाल, पुष्पकमल दाहाल निवेदक भएर आएका छन्। प्रश्न कहाँ-कहाँ आयो भन्ने फरक कुरा हो,’ वरिष्ठ अधिवक्ता थापाले भने।

उनले भारतको उदाहरण दिँदै प्रधानन्यायाधीशलाई बिदामा बस्न सुझाव दिए। भने, ‘भारतमा न्यायाधीश दीपक मिश्रमाथि पनि प्रश्न आएपछि आफूबाहेक राखेर इजलास गठन गरेर फैसला भएको थियो। फैसला चाहिन्छ भने म दिन्छु। प्रन्यालाई अधिकार छ। तपाईंको विकल्प के छ भन्नुभयो, बिदामा बस्नुस्।’

नेकपा नाम विवादसम्बन्धी मुद्दाको फैसला गरेका न्यायाधीश श्रेष्ठलाई प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा राख्न नहुने कानुन व्यवसायीहरुको माग छ।