November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एमाले कार्यदलको वैठक शुरु, के हाेला नतिजा ?

काठमाडौं – नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको वैठक शुरु भएको छ । आज (शुक्रबार) को वैठक निर्धारित समय भन्दा करिब डेढ घण्टा ढिला शुरु भएको छ ।

बिहान साढे ११ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बोलाइएको बैठक भर्खरै शुरु भएको हो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु निर्धारित समयभन्दा केही ढिला बैठकस्थल पुगेर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई पर्खिएका थिए ।

यसअघिका बैठकमा सहमतिको नजिक पुगेको बताउँदै आएका नेताहरुले बिहीबार बेलुका बसेको बैठकपछि भने १० दिनयता खासै प्रगति हुन नसकेको बताएका छन् । हिजोको बैठपछि नेपाल पक्षका कार्यदलका नेता घनश्याम भुसालले कुनै प्रगति हुन नसकेको बताएका थिए ।
तर ओली पक्षका नेताहरुले भने वैठक सकारात्मक रहेको र चाँडै नै विवाद समाधनतर्फ अघि बढेको बताउँदै आएका छन् ।

Advertisement

ओली पक्षबाट कार्यदलका संयोजक समेत रहेका नेता सुवास नेम्वाङले आफू आशावादी भएको र आजको बैठकबाट निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएका थिए । कार्यदलका सदस्यहरुले छलफल सहमतितर्फ अघि बढिरहेको दावी गरे पनि १० दिनको वैठकको परिणाम भने खासै उपलब्धीमुलक देखिएको छैन । कार्यदलका सदस्यहरुको दावी जस्तै आजको वैठकले सहमति जुटाउला कि नजुटाउला भन्ने चासोको विषय बनेको छ ।