November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

कोटेश्वरमा प्रधानमन्त्री देउवा र एमाले नेता नेपालबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वरमा पुगेका छन् ।

प्रधानमन्त्रीको सपथ ग्रहण गरेको भोलीपल्टै नेपाल निवासमा पुगेका दुई नेताबीच नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुन लागेको बताइएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा सभापति देउवालाई नियुक्त गर्न परमादेश जारी गरेपछि सभापति देउवाले मंगलबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको सपथ लिएका थिए ।

Advertisement

सर्वोच्चको फैसलापछि पार्टी एकता प्रक्रिया अगाडि बढेको भन्दै आफू गठबन्धनको साथमा नरहेको घोषणा गरेका वरिष्ठ नेता नेपाल मंगलबार देउवाको सपथ ग्रहणमा सहभागी हुनुका साथै बधाई दिएर बाहिरिएका थिए ।

नेता नेपाल पक्षका २६ जना सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका देउवा र नेपाल बीच पछिल्लो राजनीतिक अवस्था मात्र नभएर विश्वासको मत लगायतका विषयमा पनि छलफल हुने आंकलन गरिएको छ । नेता नेपाल आफैले प्रधानमन्त्री देउवालाई चियाको लागि निवासमा निम्तो दिएको बताइएको छ । तरिस्बरः मोहन गौतम