November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

ओलीलाई भेट्न महन्थ ठाकुरको टोली बालकोटमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरको टोली बालकोट भक्तपुर पुगेका छन् ।

बालकोटस्थित ओली निवासमा अहिले दुई पक्षबीच छलफल चलिरहेको छ । छलफलमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन् । ओली सत्ताच्युत भएपछि उनीहरूबीच आज (शनिबार) पहिलोपल्ट भेटवार्ता भएको हो ।

ओली नेतृत्वको सरकारमा जसपाको महन्थ समूह जेठ २१ गते सहभागी भएको थियो । तर असार ८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि विस्तारित मन्त्रिण्डल असंवैधानिक ठहर गरेपछि महिना दिन पनि नपुग्दै पदच्युत भएको थियो । विभिन्न माग पुरा गराउने शर्तमा ओली सरकारमा गएको जसपाको महन्थ पक्ष आफै मन्त्रिमण्डलबाट बाहिरिनु मात्र परेन ओली सरकार नै ढलेपछि अहिले उनीहरुको माग समेत अलपत्र परेको छ ।

Advertisement

यसपछि सर्वोच्च अदालतले पुनः गत असार २८ गते प्रतिनिधि सभा पुनः स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओली नै सत्ताबाट बाहिरिएका हुन् । यता देउवा सरकारलाई भने जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहले साथ दिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरबीच ओलीलाई हेर्ने दृष्टिकोण नमिलेपछि पार्टी विभाजन हुने अन्तिम चरणमा छ । जसपा विभाजनको फैसला गर्न साउन ३ गते निर्वाचन आयोगले गठन गरेको इजलास बस्दै छ ।