November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

संघीय संसद्का दुवै सदनको बैठक भोलि, यस्तो छ सत्तारुढ दलको तयारी

काठमाडौं: सर्वाेच्च अदालतकाे परमादेश पछि संघीय संसद्का दुवै सदनको अधिवेशन भोलि सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपराह्न ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अधिवेशन आह्वान गरेकी छन्। दोस्रो पटक सर्वोच्चबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ।

यस अधिवेशनले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गर्नेछ। केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएपछि नयाँ सरकार गठन भएको हो। देउवालाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको समर्थन छ।

एमालेको एकताका लागि दोस्रो तहका नेताहरु क्रियाशील रहेका बेला नेता नेपाल भने विपक्षी गठबन्धनसँग निरन्तर छलफलमा रहनुले देउवाले विश्वासको मत पाउने आँकलन गर्न थालिएको छ । 

Advertisement

संसदीय दलको बैठकमा के हुदैछ छलफल ?

संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका दलहरुले भोलि संसदीय दलको बैठक बोलाएका छन्। कांग्रेसले दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ।

कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा छलफल हुने सांसद डा. डिला संग्रौलाले बताइन्।

त्यसअघि बिहान ११ बजे माओवादी केन्द्रको संसदीय दलको बैठक बस्नेछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल हुने नेता देव गुरुङले जानकारी दिए। विपक्षी दल नेकपा एमालेको दलको बैठक भने हिजो बसिसकेको छ।  

संसद सचिवालयको तयारी

संसद बैठक सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायतका व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएकाे छ। तयारी स्वरुप पछिल्लो पटक संघीय सांसदसहित ८ सय एक जनामा कोरोना परीक्षण गरिएको छ।

परीक्षण गरिएकामध्ये तीन जना कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको हो। सभामुख, सांसदहरु, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारहरूको एन्टिजेन परीक्षण गरिएको हो। एन्टिजेन पोजेटिभ देखिएका तीन कर्मचारीलाई पिसिआर गर्न पठाइएको छ।