November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । सरकारलाई प्रभावकारी रुपमा लैजाने, मन्त्रिपरिषद् विस्तार गर्ने र संगठनात्मक विषयमा निर्णय लिन भन्दै माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा बैठक आह्वान गरेका हुन् । 

आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । मन्त्रिपरिषद्‌मा पार्टीका तर्फबाट पठाउने नामबारे छलफलका लागि दाहालले बैठक आह्वान गरेको स्थायी कमिटीका एक सदस्यले बताए । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुन:स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । अर्को दिन असार २९ मा प्रधानमन्त्रीसँगै कांग्रेस र माओवादीका दुई–दुई सांसदले शपथ लिएका छन् ।

हाल पाँच सदस्यीय मन्त्रिपरिषद्लाई तत्काल विस्तार गर्ने प्रधानमन्त्री देउवाको योजना छ । तर, सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबन्डा मिलेको छैन भने दलहरुभित्रै पनि आकांक्षी धेरै रहेकाले शीर्ष नेता दबाबमा छन् । यद्यपि प्रधानमन्त्री जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तारमा रहेको कांग्रेसका एक नेताले बताए ।

Advertisement