काठमाडौं- सत्तारूढ गठबन्धनको आज (बुधबार) बैठक बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी हुने बताइएको छ ।
मन्त्रिपरिषद् विस्तारसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । देउवाको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादी केन्द्रबाट दुई जना मन्त्री छन् । एमालेको माधव नेपाल पक्षले पनि सरकारमा सहभागी हुने बताइसकेको छ ।