November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

भदौं २३ पछि कांग्रेसको अहिलेको कार्यसमिति स्वतः अवैधानिक : पौडेल पक्ष

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको कुनै विकल्प नभएको निष्कर्ष निकालेको छ ।
संवैधानिक, कानुनी, राजनीतिक र नैतिक रूपमा महाधिवेशन पछि सार्ने ठाउँ सकिएको भन्दै पौडेल पक्षले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

आज (बिहीबार) पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बसेको बैठकले सभापतिको ध्यानाकर्षण गराउँदै समयमा महाधिवेशन हुन नसके पार्टीमा अरु विकल्पको खोजी हुने निष्कर्ष निकालिएको हो । ‘हामी इन्फर्मल साथीभाइहरु बसेका हौं, राजनीतिक प्राणीहरु बसेपछि राजनीतिक कुरा नै हुने भयो’, बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘अहिले कांग्रेस महाधिवेशनको मुखमा छौं, क्रियाशील सदस्यको विवाद टुंगिएको छैन । यी सबै कुरा गरेर महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने विषयमा कुराकानी भएको छ ।’ उनले महाधिवेशन सुनिश्चित गर्न पार्टी नेतृत्वले दुई दिनभित्र कार्यतालिका र निर्देशिकासहित निर्वाचन समितिलाई क्रियाशील सदस्यता दिनुपर्ने बताएका छन् ।

‘महाधिवेशन कार्यतालिका दुई दिनभित्र आउनुपर्‍यो, क्रियाशील सदस्यता र निर्देशिकासहित पार्टी नेतृत्वले दुई दिनभित्र निर्वाचन समितिलाई दिनुपर्‍यो’, पौडेलले भने, ‘हामीले यदि निर्देशिका र क्रियाशील सदस्यता दियौं भने निर्वाचन समितिले केन्द्रीय समिति र प्रदेश समितिका लागि आवश्यक तहका निर्वाचन गराउन सक्छ ।’

Advertisement

उनले पार्टी संवैधानिक रुपमै संकटमा परिरहेको भन्दै त्यसलाई बचाउन नेतृत्वले नै संवेदनशील हुनुपर्ने बताएका छन् । ‘सभापतिजी प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा पार्टीका काममा केही समस्या भएको छ’, पौडेलले भने, ‘उहाँले पार्टीको वैधानिकता जोगाएर सरकारको प्रभावकारिता स्थापित गर्नुपर्ने जिम्मेवारी छ ।’

उनले सभापतिले समयमा विचार नपुर्‍याए पार्टी अवैधानिक बाटोमा जाने दाबी गर्दै त्यस्तो अवस्थाबाट ‘आउँदो भदौ २३ गतेभित्र नयाँ नेतृत्व चयन नभए वर्तमान कार्यसमितिको वैधानिकता समाप्त हुन्छ, यो केन्द्रीय समितिले काम गर्न सक्दैन’, पौडेलले भने, ‘त्यस्तो अवस्था आए विशेष महाधिवेशनबाट छोटो समयका लागि अस्थायी विकल्प हुनसक्छ भनेर विशेष महाधिवेशनको कुरा पनि उठेको हो ।’

उनले विशेष महाधिवेशनलाई महाधिवेशनको विकल्पका रुपमा आफूहरुले अघि नसारेको बताए । ‘महासमिति बैठक र त्यसपछिको केन्द्रीय समिति बैठकमा पार्टीलाई समयबद्ध अघि बढाउन कार्यतालिका बनाऊ, महाधिवेशनका काम पनि अघि बढाऊ भनेर मैले प्रस्ताव राखेको थिएँ, त्यसलाई सभापतिजीले सुनुवाइ गर्नु भएन’, पौडेलले थपे, ‘अहिले हामी वैधानिकताको डिलमा पुगेका छौं, भदौ २३ देखि नेपाली कांग्रेसको केन्द्रीय समिति स्वतः अवैधानिक हुन्छ, यसले काम गर्न सक्दैन ।’