काठमाडौं : प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुने वित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्।
पाँच दिनभित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरू पनि आफूहरूकै पार्टीमा आउने उनले दाबी समेत गरे। शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘म भन्न चाहन्छु–पाँच दिनभित्र सबैजना उहाँहरू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ। निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको छ। त्यसपछि दल दर्ताको प्रमाण पत्र प्राप्त हुन्छ। हामी सरकारमा जाने ढोका खुल्छ।’
नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नु परेको समेत बताए। कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता हिक्मत कार्कीले पार्टीमा फर्कन नेकपा (एकीकृत समाजवादी)का नेताहरूलाई आग्रह गरे। अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्न तयार भएको उनको भनाइ छ।
यस्तै, अर्का नेता नेता ठाकुर गैरेले पार्टी एकताका लागि १४ जना सांसदहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गरे। उनले माधवकुमार नेपाललाई निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन फिर्ता लिन दबावसमेत दिए। आफूहरू पार्टी एकताको पक्षमा उभिएको पनि पटकपटक दोहोर्याए।
दुई तिहाई बहुमत प्राप्त सरकारबाट पार्टीलाई सडकमा ल्याउने काम नेतृत्वले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।