काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको प्रशिक्षकको रुपमा नियुक्त दिएको हो ।
प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा पूर्व खेलाडी चेतनले राष्ट्रिय टोली हेर्ने जिम्मा पाएका हुन् । ३३ वर्षीय उनी एएफसी ए लाइसेन्स प्राप्त हुन् ।
एन्फा स्रोतका अनुसार चेतनले विगत तीन दिनदेखि टोलीको नियमित प्रशिक्षण हेरिरहेका छन् । २६ खेलाडी समेटेर चेतनले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा टोलीलाई दैनिकी प्रशिक्षण गराइरहेको छन् ।
एन्फा टेक्निकल डाइरेक्टर (प्राविधिक निर्देशक) समेत रहेका अस्ट्रेलियन नागरिक ग्यारी हाल एन्फाको प्राविधिक क्षेत्रको कार्यमा व्यस्त छन् । मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि एन्फाले ग्यारीलाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको थियो । ग्यारीले साउनमा दशरथ रंगशालामा बंगलोदशविरुद्ध भएको दुई मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटमा नेपाली टोली हेरेका थिए ।