November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

राष्ट्रिय सभाको निर्वाचनमा २ हजार २५ मतदाता

काठमाडौँ — राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि हुने निर्वाचनमा २ हजार २५ मतदाता कायम रहेको आयोगले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ ।

निर्वाचनमा स्थानीय तहका १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना मतदाता रहेको आयोगले जनाएको छ । मतदानको लागि ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको छ । आयोगका अनुसार शुक्रबारसम्म माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी दर्ताको लागि निवेदन दिएको छ ।

Advertisement

कांग्रेस, लोकतन्त्रिक समाजवादी पार्टी र राप्रपाले शनिबार दर्ताको लागि आउने आयोगमा जानकारी गराएको छ । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृतमा नियुक्ति गरिसकेको छ । प्रदेश १ मा मोरङका न्यायाधीश भरत लम्साल, प्रदेश २ को लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, वागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ नियुक्त गरेको छ ।

गण्डकी प्रदेशका लागि कास्की अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराई, लुम्बिनी प्रदेशका लागि दाङका जिल्ला न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशको लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्य, सुदूरपश्चिम प्रदेशका लागि कैलालीका न्यायाधीश जयानन्द पनेरु नियुक्त भएका हुन् ।