काठमाडौं । सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले उक्त प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
शुक्रबार बैठकमा बोल्ने क्रममा नेकपा (एमाले) का सांसद भीम रावलले समय अगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्व जगतमा राज्य कमजोर हुने बताउदै सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिए।
‘हामीले कुटनीतिक नियोगमा पठाउने भन्या त राष्ट्रको हितको साधना गर्ने, त्यो देशको प्रतिनिधित्व गर्ने व्यक्ति हो। अनि एउटा मन्त्री फेरियो, राजदूत पनि फेरियो। यो बेथितीलाई बन्द गर्नुपर्छ । यो बन्द नगर्ने हो भने कुटनीतिक क्षेत्रमा पनि देशभरी जसरी आफ्नो सत्ता, पद, स्वार्थका लागि जे पनि गर्ने हाम्रो खराब प्रवृत्ति मौलाएको छ।’, रावलले भने ।
त्यस्तै, बैठकमा बोल्दै सांसद पुष्पा भुसालले सरकार परिवर्तन सँगै राजदूत फिर्ता बोलाउनुले राम्रो शन्देश नगएको टिप्पणी गरिन्। ‘राजदूत नियुक्ती गरीसकेपछि मुलुकको सरकार परिवर्तन हुने बित्तिकै राजदूतलाई फिर्ता गर्ने जुन अभ्यास र प्रचलन अगाडि आयो यसको शन्देश त्यति राम्रो जान नसकेको हामीले अनुभूति गरेको हुनाले कम्तिमा यति समय अगावै फिर्ता गर्न नमिल्ने भनेर एउटा छलफल, संवाद चलाउन सक्छौ,’ उनले भनिन्।