July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

बंगलादेश गएका विद्यार्थीहरूको सामान विमानस्थलमा चोरी

काठमाडौं : अध्ययनका लागि बंगलादेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक नेपाली विद्यार्थीको नगदसहित महत्वपूर्ण सामान चोरी भएको छ। मंगलवार दिउँसो १:४५ बजेको हिमालयन एयरलाइन्सको फ्लाइट नम्बर एच ९६७८ मार्फत् ढाका जाने क्रममा नित्या कार्कीको नगदसहित सामान चोरी भएको हो।

उनीसँगै यात्रा गरेका उनका अरु साथीहरूको पनि लगेजको ताल्चा भाँचिएको अवस्थामा पाइएको नेप्लिज मेडिकल स्टुडेन्ट्स बंगलादेशका अध्यक्ष नवीन यादवले बताए। यादवका अनुसार ढाका पुगेर डलर साट्ने क्रमममा लगेज च्यातिएको अवस्थामा भेटिएको थियो।

उनीहरूले तत्काल स्थानीय प्रहरीलाई खबर गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै चोरी भएको हुनसक्ने जवाफ दिएको अध्यक्ष यादवले बताए। त्यसपछि उनीहरूले आफन्तमार्फत हिमालयन एयरलाइन्सको सिसिटिभी फुटेज हेर्न खोज्दा दिन नमानेको यादवको भनाइ छ।

Advertisement

‘भिडियो डाउनलोड भएको छैन। अर्को दिन आउनुस् भनेर फिर्ता पठाइयो‚’ उनले भने‚ ‘यस्तो लापरबाही कुनै जघन्य अपराधभन्दा कम छैन।’

नेप्लिज मेडिकल स्टुडेन्ट्स बंगलादेशले एक विज्ञप्ति जारी गरी यथाशीघ्र आवश्यक छानबिन गरेर पीडित विद्यार्थीको रकम र सामान हस्तान्तरण गर्न माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘छानबिनमा सहयोग नगरे बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुले हिमालयन एयरलाइन्सलाई बहिस्कार गर्नेछौं।’

विज्ञप्तिमार्फत यादवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित निकायलाई घटनाबारे ध्यानाकर्षण गराएका छन्।