काठमाडौं । सरकारले पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी गरेको छ । सरकारले भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकमा पार्क बनाउने योजना बनाएको हो ।
स्रोतका अनुसार भैंसेपाटीमा बन्दै गरेको मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकको मन्त्री निवास र त्यस वरपरका सरकारी कार्यालयलाई मिलाएर संरक्षण सहितको खुला ठाउँ बनाइने भएको छ ।
यसअघि सरकारले हाल मन्त्री क्वाटर रहेको पुल्चोकमा स्टेट गेस्ट हाउस बनाउने निर्णय गरेको थियो । विदेशी पाहुना आएका बेला होटलमा नराखेर यस्तो गेस्ट हाउसमा राख्ने सरकारको तर्क थियो ।
लैनचौर वरपर, नयाँ बानेश्वर, मिनभवन वरपर नापी विभागलाई समेत समेटेर खुला क्षेत्र बनाउने सरकारको योजना रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पार्क बनाउने ठाउँमा रहेका सरकारी कार्यालयलाई बबरमहलमा रहेको वन विभाग परिसरमा सारेर सरकारी कार्यालयहरूको हब बनाउने योजना रहेको छ ।