November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सत्ता गठबन्धनको बैठक आजै राति १० बजे फेरि बस्ने

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पुनः बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटमा केही दिन यताको प्रयासले सार्थकता पाउन नसक्दा बैठक पुनः बस्न लागेको हो ।

आज दिउँसो ३ बजेदेखि सुरु भएको गठबन्धनको बैठक साँझ ७ बजेपछि सकिएको थियो । बैठकमा महानगर र उपमहानगरबारे समग्रमा छलफल भइरहेको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

दिउँसोबाट बसेको बैठक केही बेर रोकिएर पुनः बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार गठबन्धनको अर्को बैठक आजै राति १० बजे पुनः बस्ने छ । तर सरकारका प्रवक्ताले भने बैठक जारी हरेको प्रतिक्रिया दिएर बाहिरिएका थिए ।

Advertisement

महानगरको विषयमा मोटामोटी सहमति भए पनि उपमहानगरका विषयमा अब छलफल हुने स्रोतको भनाइ छ ।

सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि आज दिउँसो तीन बजेदेखि गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको थियो ।

सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको कार्कीले जानकारी दिए ।

“बैठकमा हरेक कोणबाट विचारहरु आएका छन् सबै सकारत्मक रुपले अघि बढेका छन्” उनले भने, “बैठक जारी छ । छलफल सकारात्मक रुपले अघि बढिरहेको छ । हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं, अहिले बैठक जारी छ ।”

आफूहरु ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उनले बताए ।

“हामीले समग्रमा ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा छलफल गरेका छौँ र अन्तिम निर्णयमा सकारात्मक रुपमा पुग्न लागेका छौँ ।”