कास्की – नेकपा एमालेले पोखराको मेयर पदकाे उम्मेदवार फेरबदल गरेको छ । एमाले सचिवालय बैठकले यसअघि दीपक पौडेललाई मेयर टुङ्गो लगाएकोमा त्यसको दुई दिनपछि कृष्ण थापालाई उम्मेदवार बनाएकाे हाे ।
गण्डकी प्रदेश सांसद समेत रहेका कृष्ण थापा तत्कालीन पोखरा उपमहानगरपालिकाका मेयर हुनुहुन्थ्याे । मेयरका उम्मेदवार पौडेलले पोखरामा सुनको सिक्री चोरेको भन्दै भिडियो भाइरल भएपछि पार्टी पङ्क्तिबाटै विरोध सुरु भएको थियो । यस्तै उपमेयरकाे पदमा दोहोरिएकी मञ्जुदेवी गुरुङले पार्टीको निर्णयप्रति आपत्ति जनाउँदै आउनुभएकाे थियाे ।
उहाँले आइतवार सामाजिक सञ्जालमार्फत आफू उपमेयर नदोहोरिने घोषणा गर्नुभएकाे थियाे । तर कृष्ण थापा मेयर र मञ्जुदेवी उपमेयर टुङ्ग्याएपछि आज दिउँसाे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुवै उम्मेदवारी दिन जाने तयारीमा रहेका एमाले कास्कीले जनाएको छ ।
यसैबीच, आफ्नो चरित्र हत्या गरिएको भन्दै दीपक पौडेलले आपत्ति जनाउनु भएकाे छ। उहाँले राजनीतिक जीवनकै अवमूल्यङ्न गरिएको भन्दै कानुनी उपचार खोज्ने बताउनु भएकाे छ ।
ढिलै भए पनि मेयरको टिकट दिइएकोमा कृष्ण थापाले भने खुसी व्यक्त गर्नुभएकाे छ । ‘पार्टीले मलाई नै टिकट दिने निर्णय गरेको छ । ढिलै भए पनि निर्णय सच्यायाे ‘ उहाँले भन्नुभयाे।
सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले उम्मेदवारी दिँदै हुनुहुन्छ । तर उपमेयरमा अझै पनि नाम टुङ्गिएको छैन ।
नेपाली कांग्रेस कास्कीले पोखराको मेयर आफूले पाउनुपर्ने दाबी गरिरहँदा सत्तागठबन्धनका शीर्ष नेताले नै समाजवादीलाई मेयर दिएपछि कांग्रेस कास्की रुष्ट छ । हिजाे बेलुका मात्रै निर्णय गरेर पोखराको हकमा केन्द्रकै निर्णय माने पनि कास्कीका अन्य ४ पालिकामा ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने भन्दै गठबन्धन नगर्ने सार्वजनिक गरिसकेको छ ।
मनोनयनको दोस्रो तथा अन्तिम दिन आज दलहरु जसरी पनि नाम टुङ्ग्याउने कसरतमा छन् । पोखराको मेयरमा पहिलो दिन आज ११ र उपमेयरमा ४ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा साना दल तथा स्वतन्त्रका हुन् ।