काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई कसैले पनि पराजित गर्न नसक्ने ठोकुवा गरेका छन् ।
नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै ७० प्रतिशतभन्दा बढी नयाँ मतदाता आफ्नो पार्टीको पक्षमा उभिने दाबी गरे । अध्यक्ष केपी शर्मा ओलीको राष्ट्र निर्माणको भिजनबाट धेरैजसो नयाँ मतदाता आफ्नो पार्टीको पक्षमा उभिने अवस्था आएको तर्कसमेत उनले गरे ।
“करिब ३५–३६ लाख नयाँ मतदाताहरु थपिएका छन् । उनीहरुका बीचमा एउटा सर्वेक्षण गर्यौँ हामीले । त्यो सर्वेक्षणको नतिजा के आयो त भन्दाखेरि करिब ७० प्रतिशत एमालेप्रति झुकाव राख्ने मतदाताको रुपमा प्रकट भएको छ,” उनले भने,“वास्तवमा भन्नुहुन्छ भने हाम्रो पार्टी अध्यक्षको राष्ट्र निर्माणका भिजनहरुले नयाँ मतदाताहरुलाई छोएको छ ।
उनले ‘आई लभ यु केपी बा’ भन्ने कुरा त्यसै प्रकट नभएको भावनाका रुपमा उल्लेख गरे । राष्ट्र निर्माणको भावनाको रुपमा ओलीप्रति सम्मानका रुपमा उक्त कुरा प्रकट भएको पनि उनले बताए ।
एमाले बलियो पार्टी भएकै कारण कांग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनाव लड्ने आँट गर्न नसकेको उनको भनाइ छ । उनले आफ्नो भविष्य रक्षाका लागि गठबन्धन बनाएर अघि बढे पनि उनीहरुको स्वार्थ नमिलेको दृश्य स्थानीय तहको मनोनयनका क्रममा देखिएको धारण राखे । अब नेपालमा सबभन्दा ठुलो पार्टी र राष्ट्रिय शक्तिको रुपमा एमाले आएको उनको भनाइ छ ।