काठमाडाैं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कैलालीका चार स्थानीय तहको प्रमुख र तीन उपप्रमुखमा विजयी भएर नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको छ । कैलालीको जोशीपुर र जानकी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, टीकापुरको प्रमुख र भजनी नगरपालिकाको प्रमुख/उपप्रमुखमा विजयी भएर सो पार्टी पहिलो दल बन्न सफल भएको हो ।
जानकी गाउँपालिकाको आधिकारिक नतिजा भने सार्वजनिक हुन बाँकी छ । सो पार्टीले यी पालिकामा प्रमुख/उपप्रमुखमा उम्मेदवार बनेका नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जस्ता ठूला दलका प्रत्याशीलाई पराजित गरेको छ । पाँच वर्षअघिको निर्वाचनमा टीकापुर नगरप्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस, जोशीपुर गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षमा काँग्रेस, भजनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएका थिए ।
टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा केही महिनाअघि मात्र गठन भएको नागरिक उन्मुक्ति पार्टीको विजयले अन्य दलका नेता कार्यर्ताका लागि अनुमान गरिएभन्दा फरक नतिजा आएको छ ।
यसअघिको स्थानीय तह निर्वाचनमा ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायत आधारमा गरिएको चुनावी परिणामको आङ्कलन गलत साबित भई परिणाम आफ्नो पक्षमा ल्याउन नागरिक उन्मुक्ति पार्टी सफल देखिएको हो । जिल्लामा १३ पालिका रहेका छन् ।्र
कैलालीमा आज साँझसम्म नौ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका प्रत्याशी लम्कीचुहा नगरपालिका र गोदावरी नगरपालिकाको प्रमुखमा र कैलारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । सो पार्टीका प्रत्याशीले घोडाघोडी र गौरीगङ्गा नगरपालिको उपप्रमुख, मोहन्याल र चुरे गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका छन् ।
माओवादी केन्द्रका प्रत्याशी जिल्लाको गौरीगङ्गा नगरपालिकाको प्रमुख र मोहन्याल गाउँपालिकाको अध्यक्ष र टीकापुर नगरपालिकाको उपप्रमुख र बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष जितेको छ । लम्कीचुहा र गौरीगङ्गा नगरपालिका तथा जानकी गाउँपालिकाको आधिकारिक नतिजा पुष्टि हुन भने बाँकी छ ।