काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बेपत्ता रहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको जनाएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै आइतबार पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ः ५५ बजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीनअटर 9NAET विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः ०७ वजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको जनाएको छ।
त्यसपश्चात उक्त विमान सम्पर्क विहिन भएको प्राधिकरणले जनाएको छ । विमानको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकोमा प्रतिकूल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको पनि प्राधिकरणले जनाएको छ ।
बेपत्ता जहाज खोज्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टर जोमसोमका लागि उडेको नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले जानकारी दिए ।