काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री मातृका यादवले छानविन कमिटी गठन गरिएपनि पार्टीलाई अन्तर्घात गर्नेहरुलाई कहिल्यै कारवाही नभएको बताएका छन् । पार्टीबाट नवनिर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा उपस्थित उनले अन्तर्घातीहरुलाई कारवाही नभएको गुनासो राखेका हुन् ।
उनले भने,‘छानविन गर्न कमिटी गठन गर्ने तर अन्तर्घातीहरुलाई कहिल्यै कारवाही भएन । त्यो देखाउनलाई मात्रै भयो । ’
यस्तै उनले माओवादी पार्टी जस्तै चल्नुपर्ने बताउँदै यादवले क्लबजस्तै चलाउन नहुने पनि बताए ।
चुनाव हार/जितको अब केन्द्रीय समितिमा समीक्षा हुने पनि उनले बताए । मेरो जोड समीक्षा हुनुपर्छ । अहिले थुप्रै समस्याहरु देखिएका छन् ।’ यादवले भने, ‘खासमा मधेसमा २०७४ सालमा २१ जितेमा ९ पालिका मात्रै जितेका छौ । यो चुनावमा पार्टी नै थिएन । व्यक्तिहरु थिए आफ्नै ढंगले लडे । पार्टी नेतृत्व जसरी लाग्नुपर्ने थियो त्यसरी लागेन ।’ मधेसमा माओवादीको कमिटी नहुँदा आ–आफ्नै ढंगले समेत चुनाव लड्दा ९ पालिका मात्रै जितेको उनले बताए ।
यस्तै उनले मधेस नेतृत्वविहीन भएको पनि बताए । उनले भने, ‘मधेसमा पार्टीको कमिटी थिएन । नेतृत्वविहिन भयो । मेरो जिम्मेवारी पनि छैन । यो चुनावमा मेरो जिल्लामा कसलाई टिकट दिइँदैछ भन्ने समेत थाहा थिएन । उम्मेदवारी दर्ता गर्ने लास्ट दिनसम्म कसले टिकट पाउँदै छ भन्ने समेत थाहा थिएन । यस्तोसम्म भएपछि भन्नुस् पार्टीको अवस्था कस्तो रहेछ ?’