काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज पनि बोलाइएको छ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाण र कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले विभिन्न विधेयक छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची छ। गृहमन्त्री खाणले सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ।
यस्तै कृषिमन्त्री यादवले बिरुवा संरक्षण पहिलो संशोधन विधेयक २०७६ र बिउ विजन दोस्रो संशोधन विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यस्तै दिउँसो १ बजेकै लागि बोलाइएको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत शीर्षकमा छलफल जारी रहने भएको छ। संसद सचिवालयका अनुसार आज शिक्षा विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयगत शीर्षकमा विनियोजित बजेटमाथि छलफल गर्ने कार्यसूची छ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमा विनियोजित बजेटमाथि छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आजको बैठकमा केही सांसदहरुले मन्त्रालयगत शीर्षकको खर्च कटौतिको प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।