काठमाडाैं । पत्रकारिता छोडेर राजनीति गर्ने घोषणा गरेका रवि लामिछानेले नयाँ दल दर्ता गर्ने प्रक्रिया सुरू गरेका छन्। मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा घोषणा सभा राखेर उनले आफूले खोल्ने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी हुने बताए।
पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको बसुन्धरामा रहने उनले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरिएको छ। रविको घोषणा सभामा उनका समर्थको ठूलो उपस्थिति थियो।
अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए।
पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए।
तर पार्टी घोषणा गरेपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित र मुख्यमन्त्रीको एजेन्डा अघि बढाउने बताए। नेपालमा अहिले संसदीय प्रणाली छ। संघीय सरकारमा प्रतिनिधि सभाबाट प्रधानमन्त्री र प्रदेश सभाबाट मुख्यमन्त्री छानिने संवैधानिक व्यवस्था छ।
लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए। सभागृहको घोषणा सभापछि उनले कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर दल दर्ताको निवेदन दिएका छन्। दल दर्ताको निवेदन आयोगमा बुझाएलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले पार्टी सभापति आफू भएको बताए।
‘यो दलको सभापति म छु,’ उनले भने, ‘हाम्रो टिमले मलाई सभापति चुनेको छ। हामी २१ जना छौं।’
उनले दल दर्ताका लागि निवेदन दिँदा अरू क-कसको नाम समावेश गरेका छन् भन्नेबारे खुलाउन चाहेनन्। आयोगले दल दर्ताको प्रमाण पत्र दिएपछि मात्रै ती व्यक्तिका नाम खुलाउने उनले बताए।