काठमाडौं : जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज सुरु हुँदैछ।
बैठक बिहान ११ बजे जडिबुटीमा सुरु हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए। बैठकमा पार्टीको आन्तरिक अवस्था स्थानीय निर्वाचनको समीक्षा, संगठन, आगामी कार्ययोजना लगायत विषयमा छलफल हुनेछ। बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने नेता पाण्डेले बताए।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समितिको विस्तारित बैठक पनि असार २९ र ३० गते वीरगञ्जमा बस्दैछ। बाबुराम र उपेन्द्र समूहको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बसेसँगै पार्टी स्पष्ट रूपमा विभाजित हुने भएको छ।
भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्ने तयारी यसअघि नै गरिसकेका छन्। यसअघि महन्थ ठाकुर, राजेन्द्र महतोले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गरिसकेका छन्।