November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

उपेन्द्र यादव र अशोक राईको आरोप- बाबुरामजी गलत बाटोमा हिँड्नुभयो

वीरगन्ज — जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठक बुधबारदेखि वीरगन्जमा सुरु भएको छ । जसपाका संघीय परिषद्‍ अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पक्षको बैठक काठमाडौंमा सुरु गरेको भोलिपल्टै यादव पक्षको बैठक वीरगन्जमा सुरु भएको हो ।

तर, वीरगन्जको बैठक केन्द्रीय कार्यकारिणी समितिको निणर्यबाट प्रारम्भ भएको अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । बैठकमा विभिन्न एजेन्डा, कार्यसूची प्रस्तुत गरिने र विस्तृतरुपमा विचार विमर्श गरी निष्कर्षमा पुगी पार्टी र सिंगो मुलुकलाई एउटा दिशा दिने प्रयास रहने अध्यक्ष यादवले बताए ।

यस क्रममा नेता यादवले भट्टराईलाई लक्षित गर्दै अस्थिर मानसिकताले पार्टी र संगठनको निर्माण हुन नसक्ने बताए । बाबुराम समूहले काठमाडौँमा गरेको भेलामा जसपाको ब्यानर दुरुपयोग गरेको यादवले आरोपसमेत लगाए । ‘उक्त बैठकले मान्यता र वैधानिकता पाउँदैन,’ उनले भने, ‘न्यूनतम राजनीतिक संस्कार नभएका व्यक्तिहरुको भेला हो ।’

Advertisement

उनका अनुसार स्थानीय तहको निर्वाचन भन्दा केही दिन पहिला संघीय परिषदको बैठक बस्यो । त्यसपछि केन्द्रीय समितिको बैठक बसेको हो । साथै केन्द्रीय कार्यकारणीको बैठक बस्यो । र उनीहरू निर्वाचनमा गएका हुन् । उनले भने, ‘स्थानीय तहको निर्वाचन हुँदै गर्दा कतै कतै केही साथीहरुले हस्ताक्षर चलाउनु भयो । तर, त्यो हस्ताक्षर केका लागि हो भन्दा बैठक बोलाउन भने । बैठक बोलाउन हस्ताक्षर गर्नुपर्छ र ? चुनवा सकेपछि बैठक बसिहाल्छ । त्यसपछि केन्द्रीय कार्यकारणी समितिको बैठक पनि बस्यो । त्यसमा डाक्साबले आफ्ना २/३ जना मान्छे पठाउनु भयो ।’

यादवले भट्टराईलाई लक्षित गर्दै ‘डाक्साबको हस्ताक्षर गराउने पुरानो बानी रहेको’ भन्दै व्यंग्य गरेका थिए । ‘माओवादीमा हुँदा प्रचण्डलाई हटाउन पनि हस्ताक्षर गराउनु भएको थियो । त्यो हस्ताक्षर बुझाउँदा बाबुरामले हस्ताक्षर गराएका १८ जनाले बैठकमा विरोध गरेका थिए । बाबुरामले माओवादी छाडे, यहाँ पनि सन्जोग त्यस्तै भएको छ । उहाँले हस्तारक्षर गराउनु भयो । त्यो त पार्टीमा बुझाउनु पर्थ्यो नि । यहाँ बैठकमा पेस गर्नुपर्थ्यो । यसरी मेरो बहुमत छ भनेर देखाएको भए म अध्यक्ष छाडिहाल्थें । हस्ताक्षर बोकेर भाग्नु भएछ,’ यादवले भने ।