November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन सर्वोच्चको आदेश, बालेन शाह असन्तुष्ट

काठमाडौँ । सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आगामी सोमबारसम्म हटाउने निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश भएको हो ।

आगामी सोमबार अर्थात यही साउन ३० गते उक्त अस्पताल हटाउने वा नहटाउने विषयमा सुनुवाइ हुनेछ । अदालतले उक्त संरचना हटाउनु पर्नाको कारणसहित लिखित जवाफ पेस गर्नसमेत आदेश दिएको छ ।

Advertisement

बालेन शाह असन्तुष्ट

सर्वोच्च अदालतकाे अल्पकालीन अन्तरिम आदेशप्रति काठमाडाैं महानगरका प्रमुखले बालेन शाहले असन्तुष्टि प्रकट गरेका छन् ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज उक्त आदेश जारीपछि प्रमुख बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न गरोस भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।

उनले लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’