काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक पारित गराएर छाड्ने तयारीमा सत्तारुढ पक्ष जुटेको छ । बिहीबार बस्न लागेको प्रतिनिधिसभा बैठकबाट विधेयक पारित गर्ने तयारी छ ।
संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची राखको छ । प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी गराउनुपर्ने व्यवस्था छ । यस्तो जानकारी संसद सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ ।
बिहीबार गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यसपछि सांसदहरुले आफ्नो धारणा राख्ने छन् । गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । मन्त्रीले जवाफ दिँदा सांसदहरुले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन । स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुनेछ । सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा पास भएर अगाडि बढ्न सक्ने व्यवस्था छ ।
सत्ता साझेदार सत्तारुढ गठबन्धनले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको ‘राजनीतिक कदम’ भएको निष्कर्ष निकाल्दै पुनः संसदमार्फत राष्ट्रपति समक्ष पठाउने निर्णय गरिसकेको छ । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक फेरी जस्ताको तस्तै संघीय संसदबाट पास गरेर राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको जानकारी दिए ।
संघीय संसदले पास गरेको नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले अंगीकृत नागरिकताको विषय उठाएकी छन् भने आमाको नाममा नागरिकता लिँदा गर्नुपर्ने स्वघोषणाको व्यवस्थामा प्रश्न गरेकी छन् ।