काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरू एक हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै प्रचण्डले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन र कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरू एक हुनुपर्ने बताएका हुन् ।
प्रचण्डले माओवादी नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न नसक्ने र परिवर्तनका बाहकहरूलाई पन्छाएर मुलुकको विकास असम्भव रहेको समेत बताए ।
उनले राष्ट्रलाई एकतावद्ध गरि सुशासन र विकासलाई इमान्दारीपूर्वक रुपमा अघि बढाउन युवाहरूको एकतावद्ध सहभागीता अनिवार्य रहेको पनि बताए ।
यस्तै, प्रचण्डले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्रित हुन युवापङ्क्तिलाई निर्देशन दिएका छन् । ‘चुनावी महासङ्ग्राम अगाडि छ, त्यो सङ्ग्राममा युवाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ । अब तपाइँहरु क्रान्तिकारीलाई विजयी गराउने र समाजवादी क्रान्तिको आधार तयार पार्नेमा केन्द्रित भएर लाग्नुपर्नेछ ।’, उनले भने ।
उनले राजनीतिक सङ्घर्षका क्रममा युवाले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा फौजका रुपमा खटिन पनि युवापङ्क्तिलाई आग्रह गरे । ‘युवा शान्तिपूर्ण फौजका रुपमा खटिनुपर्छ’, प्रचण्डले भने ।