July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

समानुपातिकमा २० लाख मत पाउछौँ: माधव नेपाल

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् ।
मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको चन्द्रौटामा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए ।

गत स्थानीय तहमा ९ लाख २७ हजार मत पाएको बताउँदै नेपालले आगामी निर्वाचनमा दृढताका साथ होमिन नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
अध्यक्ष नेपालले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने भन्दै मुस्लिम इत्तेहाद सङ्गठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई संगठन बलियो बनाउन आग्रह गरे ।

पार्टीका सबै संगठनलाई मजबुत बनाउने दायित्व सबै नेता कार्यकर्ताको रहेकाले गाउँगाउँमा संगठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिए । गरिब र अत्याचारविरूद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आगामी निर्वाचनमा अत्यधिक मत पाउनेगरी काम गर्नुपर्ने बताउदै अध्यक्ष नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने, छोरीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने बताए ।
मधेस प्रदेशले बेटी बचाउ, बेटी पढाउ अभियान सञ्चालन गरी छोरीलाई शिक्षाको पहुँचमा पुर्याउने प्रयास गरेको बताउदै अध्यक्ष नेपालले मदरसालाई व्यवस्थित गराइ सरकारी स्वामित्वमा ल्याउन र हज कमिटी गठनमा आफूले प्रयास गरेको बताए ।

Advertisement