काठमाडौं । निर्वाचन आयोगले झुटो फेसबुक पेज एवं ग्रुपहरू हटाउन निर्देशन दिएको छ । आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै दलका नेताहरूविरुद्ध ‘लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/दृश्य सामग्री’ प्रकाशन गर्ने त्यस्ता पेज तथा ग्रुपहरु हटाउन निर्देशन दिएको हो ।
नेताहरूविरुद्ध ‘लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/दृश्य सामग्री’ प्रकाशन गरेकोप्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्ता सामग्री तत्काल नहटाए कानुनबमोजिम एक लाख रुपैयाँ जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने आयोगले चेतावनी दिएको छ ।
आयोगले ‘नो, नट अगेन’ लगायत फेसबुक पेजहरूलाई यस्तो चेतावनी दिएको हो । यस्ता कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकुल रहेको आयोगले जनाएको छ ।
