काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले सुशासन र विकास आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको बताएकी छन् । तिहारको अवसरमा काठमाडौंको शंखरापुर नगरपालिका–३ जहरसिंह पौवामा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन आफूले उम्मेदवारी दिएको बताएकी हुन् ।
सत्तारुढ गठबन्धनका तर्फबाट काठमाण्डौं–२ बाट उम्मेदवारी दिएकी उनले आफू सभामुख पदमा रहँदा सुशासनका पक्षमा दृढतापूर्वक उभिएको बताइन् । ‘म सभामुख भएको मान्छे हुँ । दुई वर्ष सभामुख हुँदा सुशासनको मामिलामा देशलाई घात गर्ने काम गरेको वा एक रुपैयाँ भ्रष्टाचार गरेको कसैले पुष्टि गर्न सकोस् म राजनीतिबाटै सन्यास लिन्छु’, उनले भनिन् ।
यस्तै, घर्तीले जीर्ण अवस्थामा रहेको चाबहिल–मुलपानी–साँखु सडक निर्माणको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने र मध्यपहाडी लोकमार्गसँग जोड्ने प्रतिबद्धता जनाइन् । काठमाडौं–२ लाई पर्यटकीय हबका रुपमा विकास गर्ने, कृषि पर्यटनको विकासका लागि पूर्वाधारमा जोड दिने, युवाहरुले स्वदेशमै रोजगारी पाउने र गाउँको खाना, संस्कार, संस्कृति र रितिरिवाजको रक्षा गर्ने आफ्नो सपना रहेको उनले बताइन् ।