काठमाडौं । मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि अब राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता बमोजिम खुला रूपमा प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी कात्तिक १७ गते बिहीबारबाट प्रचार शैली परिवर्तन गर्न पाउने बताएको हो ।
प्रमुख आयुक्त दिनेश थपलियाले बुधबार पत्रकार सम्मेलन गरी भने, ‘मंसिरमा हुने निर्वाचनका लागि आयोगले दुई चरणको प्रचार शैली तय गरेकोमा एक पहिलो चरणको सकिएर बिहीबारबाट अर्को चरण सुरु हुनेछ । बिहीबारबाट आचारसंहितामा तोकिए बमोजिम सबै राजनीतिक दल र उम्मेदवारहरूले आमसभा, भेला, कोणसभा, जुलुस लगायतमार्फत निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् ।’
उनले आयोगले निर्वाचन आचारसंहिता पालना भएनभएकोबारे सूक्ष्म अनुसन्धान गरिरहेको तथा उम्मेदवारहरूले निर्वाचनमा गर्न पाउने खर्चबारे सीमा तोकेको भन्दै सोही अनुसार गर्न आग्रह गरे । यसअघि आयोगले कात्तिक १६ सम्म २५ जना भन्दा बढीको समूहमा घरदैलो समेत गर्न नपाउने आचारसंहिता बनाएको थियो ।