November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

गैर राजनीतिक व्यक्ति राष्ट्रपति हुनु दलहरूको आफैँमाथि अविश्वास हो : सुवाष नेम्वाङ

काठमाडौं : नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरूले आफैँमाथि अविश्वास गर्नु भएको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएका हुन्। उनले राष्ट्रपतिका लागि राजनीतिक दलहरूले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने पनि बताए। नेकपा एमालेबाट राष्ट्रपति बन्ने चर्चामा उनको नाम अघि आएको छ।

उनले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्नसक्ने दावी गरे। उनले राष्ट्रपति बन्न अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको पनि बताए। उनले प्रतिनिधिसभामा आज निर्वाचित सभामुख देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताए।

Advertisement

उनले भने, ‘आजको प्रतिष्पर्धा सहमतिको प्रतिष्पर्धा हो। लोकतन्त्रको विधि, प्रक्रियाअनुसारको प्रतिष्पर्धा हो। सभामुखले अब हामीले विश्वास गरेको जस्तो गरेर सबैको विश्वास जितेर काम गर्नुपर्छ। मलाई विश्वास छ, उहाँले राम्रो काम गर्नुहुन्छ। जनताको छोराछोरी नै राष्ट्रपति बन्ने हो, कोही पनि बन्नसक्छ। बन्नुहोस् भन्ने आग्रह छ, पार्टीले के निर्णय गर्छ हेरौँ। गैर राजनीतिक दलबाट राष्ट्रपति बनाउने कुरा राजनीतिक दलहरूले आफैँमाथि गरेको अविश्वास हो। राजनीतिक दलहरूले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ। जुन सक्षम व्यक्तिले संविधानले कल्पना गरेको जस्तो काम गर्न सकोस्।’

सांसद नेम्वाङले सभामुखले सबैसँग सहकार्य गरेर सबैको विश्वास लिएर अघि बढ्नुपर्ने बताए।