November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

चित्रबहादुर र नारायणमानलाई राष्ट्रपति बनाउन लबिङ !

काठमाडौं । प्रतिनिधिसभाले सभामुख र उपसभामुख निर्वाचनपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी शुरु भएको छ । सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलहरुले तेस्रो राष्ट्रपति खोजी थालेका छन् ।

नयाँ राष्ट्रपतिका लागि सत्ता गठबन्धन र बाहिर रहेका दलहरूले अंकगणितको जोड घटाउसमेत सुरु गर्न थालिसकेका छन् ।सत्तारूढ दलमध्येको प्रमुख घटक नेकपा एमालेले पूर्वसहमतिनुसार राष्ट्रपति आफ्नै दलले पाउने अपेक्षा राख्दै आएको छ भने सत्ताबाहिर रहेको दल नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनजस्तै हिसाबकिताब ‘राष्ट्रपति निर्वाचन’मा नहुने अड्कल गर्दै आइरहेको छ ।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत दिएकाले कांग्रेसले ‘राष्ट्रपतिमा आफ्नो दावी स्वभाविक रहेको’ बताउँदै आएको छ । एमालेले भने सरकार गठनअघि नै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र एमालेले राष्ट्रपति लिने सहमति भएको दावी गरिरहेको छ ।

Advertisement

एमालेले राष्ट्रपतिमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य र डोरमणी पौडेलमध्ये एक जनालाई अघि सार्ने रणनीति बनाएको बताइन्छ ।कांग्रेसबाट वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला राष्ट्रपति बन्ने दौडमा छन् ।

त्यस्तै, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी अध्यक्ष डा।बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत नेता पनि राष्ट्रपतिमा चर्चा छन् । तर पछिल्ला केही दिनदेखि नयाँ व्यक्तिको नाम चर्चामा आउन थालेको छ ।

एमालेले आफ्नो भागको राष्ट्रपति उम्मेदवारमा विजुक्छेलाई अगाडि सार्न सक्नेसम्मको विश्लेषण हुन थालेको छ । चित्रबहादुर केसीको नाम पनि राजनीतिक बजारमा चर्चा हुन थालेको छ । उपाध्यक्ष ईश्वर पोखरेलको नाममा पनि एमालेभित्र चर्चा भइरहेको छ । त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीलाई तेस्रो पटक अवसर प्रदान गर्नेगरी कानून शंसोधनको प्रयास भइरहेको बुझिएको छ ।