काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सो पार्टीका अध्यक्ष तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेले यस्तो संकेत गरेका हुन् ।
भेटमा लामिछानेले गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने बताएका थिए । बालुवाटार स्रोतका अनुसार बेलुकासम्ममै सपथ ग्रहण गराउन लामिछानेले अनुरोध गरेका थिए । दाहालले प्रक्रियाबाट आएपछिमात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुने जानकारी गराएको बालुवाटार स्रोतले जानकारी दियो ।
अहिले तपाईँलाई होइन, तपाईँको पार्टीलाई पनि गृह मन्त्रालय दिन सकिने अवस्था छैन,” प्रधानमन्त्री दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “मेरो पार्टीमा पनि गृह मन्त्रालय अब प्रधानमन्त्रीसँगै राख्नुपर्छ भन्ने सुझाव आएको छ । तपाईँको नागरिकताको विषय अझै टुंगो लागिसकेको छैन । राहदानीको विषय पनि उठेको छ ।” स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले स्पष्ट शब्दमा गृह मन्त्रालय नदिने बताएका थिए ।