November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रचण्डलाई राष्ट्रपतिको निर्वाचनसम्म पनि सरकार थेग्नसक्ने अवस्था छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्कालै माओवादी र जसपासँग पार्टी एकता नहुने जनाएका छन् । माओवादी केन्द्र र जसपासँग एकताको प्रयासमा संवाद चलिरहेको बेला अध्यक्ष माधव नेपालले भने एकताको आधार तय नभएको बताएका छन् ।

उनले शनिदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत सो कुरा बताएका हुन् । एसले वार्ता कमिटीसमेत बनाएका कारण उक्त चर्चामा भएपनि अध्यक्ष नेपालले त्यसमा अहिले नै आधार नभएको उल्लेख गरेका हुन् । अध्यक्ष नेपालले शनिबार केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भने मोर्चाबन्दी गर्न सकिने भए पनि एकताको चरणमा पनि पुग्न सक्ने अवस्था नभएको उल्लेख गरेका छन् ।

अध्यक्ष नेपाले कम्युनिस्ट शक्तिको आवश्यकता रहेको चाहिँ बताएका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘नेपाली समाजमा आमूल परिवर्तन गरेर समाजवाद निर्माणका लागि एउटा बलियो कम्युनिस्ट शक्तिको आवश्यकता छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी त्यो बलियो कम्युनिस्ट शक्ति निर्माण हुनसक्दैन । हामीले पार्टी पुनर्गठन अभियान सुरु गर्दा नै वाम आन्दोलनलाई एकतावद्ध बनाउनुपर्ने अवधारणा अगाडि सारेका थियौँ ।’

Advertisement

उनले राजनीतिक प्रतिवेदनम भनेका छन्, ‘सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी भने तात्कालिक राजनीति, आर्थिक सामाजिक, सांस्कृतिक मुद्दाहरूमा दृष्टिकोण मिल्नेहरूका बीच गर्न सकिन्छ । त्यसका निम्ति हामीले पहल गर्नुपर्छ ।’

उनले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिको निर्वाचनसम्म पनि थेग्नसक्ने अवस्था नरहेको दाबी गरेका छन्। उनले भने, ’प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन। राष्ट्रपतिको चुनावसम्म थेग्ने होला। तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौं–खटपट सुरु भइसक्यो। यो राजनीतिक तरल अवस्था कहिलेसम्म कायम रहने हो ? यसै भन्न सकिने अवस्था छैन।’

संसद्को रोस्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्नै उनले त्यसबाट नेपाली जनतामा निराशा छाएको दाबी गरे। रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै अध्यक्ष नेपालले जनताले उनीहरुको विरोधमा बोल्न थालेको बताए।