बारा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार खल्तीबाट निकाले स्वीकार्य नहुने बताएका छन् । बाराको कलैयामा शनिबार नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै थापाले विगतमा संविधानले नचिनेपनि राष्ट्रपति कार्यकारी बन्न खोजेको देखिएको र फेरि एमालेकै उम्मेदवारलाई राष्ट्रपति चुने संवैधानिक अभ्यास ठूलो अप्ठेरो र दुर्घटनामा जाने बताएका हुन् ।
‘हेर्दा सामान्य विषय लाग्छ । तर अहिले नेपाल कम्युनिष्ट पार्टीका नेताले खल्तीबाट निकाल्ने नामलाई बहुमतको आधारमा नेपालको राष्ट्रपति बनाउने हो भने दावाका साथ भन्न सकिन्छ । यो पाँचवर्षको संवैधानिक अभ्यास ठूलो अप्ठेरो र दुर्घटनामा जान्छ ।’, थापाले भने ।
महामन्त्री थापाले एमालेको नेताले खल्तीबाट नाम निकालेर आफूले कज्याउन सक्ने, आफ्नो आदेश मान्ने, आदेश पालक एउटा व्यक्तिलाई अघि सार्ने दावी गरे । त्यो व्यक्तिलाई अहिलेको सत्ता गठबन्धनको बहुमतले राष्ट्रपति बनाए अलग्गै शक्तिकेन्द्रको अभ्यास गर्ने उनको भनाइ छ ।
महामन्त्री थापाले संविधानले नचिनेको अभ्यासतिर लिएर जाने प्रयासलाई रोक्नुपर्ने बताए । ‘राष्ट्रपतिमार्फत नेकपा एमालेको नेताले आजको दिनमा देखिरहेका छौं, हेरिरहेका छौं । संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्र भनौं, एक्स्ट्रा कन्स्टिच्युसनल अभ्यास गर्ने जुन कुरा सुरु भएको छ । त्यो राष्ट्रपति मार्फतबाट गर्नुपर्छ, त्यसपछि एउटा समाचार बालुवाटारबाट निस्कन्छ, अर्को शितल निवासबाट निस्कन्छ ।’, थापाले भने ।
आफूले प्रधानमन्त्रीलाई भेटेर संविधान र व्यवस्थाको स्थायित्वको लागि राष्ट्रपति निर्वाचनमा एमालेलाई सहयोग गर्न सुझाव दिएको पनि महामन्त्री थापाले बताए ।