November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

मन्त्रीले माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि यातायात मजदूरको बन्द हड्ताल फिर्ता

काठमाडौं । विभिन्न माग राखेर उपत्यकामा बन्द हड्ताल गरेका सार्वजनिक यातायात मजदूर सम्बद्ध संगठनले बन्द हड्ताल फिर्ता लिएका छन् । बन्द हड्ताल फिर्ता लिएसँगै सार्वजनिक यातायात पनि तत्कालै खुल्ने भएका छन् ।

मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्ताका क्रममा मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि मजदूर संगठनका पदाधिकारीले यस्तो घोषणा गरेका हुन् ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सर्वसाधारणका लागि सडकमा सहजीकरण गरेर वार्ताको निष्कर्षमा पुग्नु पर्नेमा जोड दिएका थिए । मन्त्री श्रेष्ठले जायज मागहरू सम्बोधन गरिने बताए ।

Advertisement

मंगलबार बिहानदेखि नै यातायात मजदुर, व्यवसायी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं महानगरपालिकाका अधिकारीबीच वार्ता भएको हो ।

सोमबार प्रदर्शनका क्रममा गोंगबु, नयाँ बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियो । सार्वजनिक सवारी नचल्दा भने यात्रुले सास्ती खेपेका छन् ।