November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

भिसी क्या. रामबहादुर बेघा लिम्बुको निधन, दमकमा शोक सभा राखिने

काठमाडौं । भिक्टोरिया क्रस विजेता (भिसी) क्या. रामबहादुर बेघाको निधन भएको छ । बेघाको आज बिहान ३ः ४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ ।

अस्वस्थाका कारण बिगत ६ महिनादेखि झापास्थित बिएनसी अस्पतालमा स्वास्थ्य उपचार गराउदै आएका ८८ वर्षीय लिम्बु बिगत ३ महिनादेखि ललितपुरको मेडिसिटी हस्पिटलमा उपचाररत थिए । ‘वहाँलाई विगत ३ महिनादेखि नखिपोटमा रहेको आफ्नै घरबाट अस्पताल लाने ल्याउने गरिँदै थियो । कहिले १५ दिन कहिले ८ दिन अस्पतालको बसाइ हुन्थ्यो । तर, १ महिना यति भने अस्पतालमै रहेर उपचार गराईरहनुभएको थियो ।’, भिसी लिम्बुका आफन्त माङ्गेना फुङले जानकारी दिइन् ।

लिम्बुको अन्त्येष्टि दमकमा गरिने तर काठमडौंबाट कहिले लैजाने भन्ने आज बेलुकासम्म टुङ्गो लाग्ने उनले जानकारी दिइन् । स्थित भिसी लिम्बुले निर्माण गरेको ‘युमा माङ’ मा उनको शोक सभा राख्ने परिवारले जनाएको छ ।

Advertisement

लिम्बुका श्रीमती, चार छोराबुहारी र नातानातिना छन् । जसमा बेघाको जेठा छोरा क्याप्टेन भक्तबहादुर बेघा लिम्बुको २०७८ असोजमा कोभिड–१९ कारण निधन भएको थियो । जेठा छोराको श्रीमती र २ छोरी छन् भने माइला छोराबुहारीका २ वटा छोरी, साइला छोराबुहारीको २ दुई छोरी १ छोरा र कान्छा छोराबुहारीको २ छोरी छन् ।

को हुन् भिसी क्या. रामबहादुर लिम्बु बेघा ?
हाल याङवरक गाउँपालिका १ मा पर्ने च्याङ्थापुमा १९९२ साउन २१ गते जन्मिएका लिम्बु २२ वर्षको उमेरमा गोर्खा सैनिकमा भर्ना भएका थिए । पाँचथरबाट २२ जनाबाट ७ जना छनौट हुँदा उनी पनि परेका थिए । भैरहवा नजिकको पक्लीहवाबाट बेलायती गोर्खा सैनिक छनौट लिम्बु सैनिकमा प्रवेश गरेपछि ‘टेन्थ प्रिन्सेस मेरिज ओन गोर्खा राइफल्सको सेकन्ड बटालियन’मा जोडिए । सन् १८९० मा निर्माण गरिएको राइफल्स सन् १९६० को दशकमा मलेसियन संकटकाल र इन्डोनेसियन भिडन्तमा सहभागी भएको थियो । १९५७ मा यो राइफल्समा प्रवेश पाएका लिम्बु पनि त्यो बेला मलाया भनिने मलेसियाको संकटकाल र इन्डोनेसियासँगको युद्धमा सहभागी भए । त्यही युद्धमा देखाएको बहादुरीका कारण लिम्बुले ‘भिक्टोरिया क्रस’ पदक पाए । उनले बेलायती राजतन्त्रको आवासीय र प्रशासनिक क्षेत्र बकिङ्घम प्यालेसमा गएर एलिजावेथ सेकेन्डबाट पदक थापेका थिए ।

लिम्बु समुदायमा भिक्टोरिया क्रस पाउने व्यक्ति रामबहादुर लिम्बु मात्रै हुन् । सन् १९६३ देखि ६६ सम्म सवारकमा भएको भीषण युद्धमा सहभागी लिम्बु युद्धकै दौरानमा सन् १९६५ को नोभेम्बर २१ मा सवारकमा गस्ती गर्दै गर्दा लिम्बुसहित ३ जना सैनिक टोलीको अचानक दुस्मनसँग जम्काभेट भएको थियो । इन्डोनेसियाली सैनिकले गोली हान्दा एक साथीको टाउकामा गोली लागेर मृत्यु भयो भने अर्को साथीको शरीरमा गोली लागेर घाइते भए । धमाधम साथीहरु ढल्न थालेपछि बीच भागमा रहेका लिम्बुले ग्रिनेट हाने । सुरुङ खनेर बसेका इन्डोनेसियालीहरु दुई गोर्खालाई गोली हानेर सुरुङमै छिरेछन् । सुरुङको प्वालबाट ग्रिनेट छिरेपछि इन्डोनेसियालीहरुको मृत्यु भयो । त्यतिबेला उनले ३० जना दुस्मनलाई मारेका थिए । दुस्मन सबै मरेपछि उनले घाइते भएका र मरेका दुवै साथीलाई सुरक्षित स्थानमा लगे । यही बहादुरीका लागि लिम्बुले भिक्टोरिया क्रस पाएका थिए ।

३० वर्ष पुग्दा भिक्टोरिया क्रस पदक पाएका उनी ५० वर्षको उमेरमा अवकाश भएका थिए । मानार्थ क्याप्टेन भएर सन् १९८५ सैन्य जीवनबाट अवकाश भएका उनले सैन्य जीवनमा हुँदा भिक्टोरिया क्रसबाहेकका अन्य धेरै पदक पाएका छन् । सन् १९१८ र १९६२ मा ‘जनरल सर्विस’ मेडल, सन १९७७ मा ‘क्विन एलिजावेथ सिल्भर जुब्ली’ मेडल, सन् २००२ मा ‘क्विन एलिजावेथ गोल्डेन जुब्ली’ मेडल र सन् २०१२ मा ‘क्विन एलिजावेथ डाइमन्ड जुब्ली’ मेडल र लामो समय र इमानदार व्यवहार गरेकोमा ‘लंग सर्विस एन्ड गुड कन्डक्ट मेडल’ पाएका छन् । यस्तै, ब्रुनाईको ‘गोर्खा रिजर्ब युनिट सर्विस’ मेडल र मलेसियाको सर्वोच्च पदक ‘मलेसिया सर्विस’ मेडल पनि पाएका छन्।

गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा सन् १९८५ को ३१ औँ संस्करणदेखि नेपालका कक्षा दसको सामाजिक शिक्षा विषयमा लिम्बुको बहादुरी गाथा लेखिएको छ । यसबाहेक उनलाई दमक, काठमाडौं र बेलायतका विभिन्न क्षेत्रका सामाजिक तथा सैन्य संस्थाहरुले अभिनन्दन, प्रमाणपत्र र सम्मान गरेका छन् ।
लिम्बुका चार छोराबुहारी र नातानातिना छन् । जसमा बेघाको जेठा छोरा क्याप्टेन भक्तबहादुर बेघा लिम्बुको २०७८ असोजमा निधन भएको थियो ।

सैन्य जीवनबाट अवकाश पाएपछि लिम्बु सामाजिक क्षेत्रमा सक्रिय थिए । उनले दमकमा ‘युमा माङ्हिम’ निर्माण गरेका छन् । २ कट्ठा बढी क्षेत्रफल ओगटेको यस माङ्हिममा धर्मशाला र सचिवालयसहितका आधुनिक सुविधा छन् । यस्तै, जन्मथलो च्याङ्थापुमा एउटा सडक बनाउन पनि लिम्बुले सहयोग गरेका छन् । स्थानीयहरु मिलेर बनाएको उक्त सडकमा लिम्बुले ११ लाख रकम दिएका थिए । उनले आफ्ना जातीय संस्था, सामाजिक संस्था, धार्मिक संस्था र अन्य विभिन्न व्याक्ति तथा संस्थालाई सहयोग गरेका छन् । भूपू गोर्खा सैनिकका विभिन्न सामाजिक कार्यहरुमा लिम्बुको सहयोग हुँदै आएको थियो ।

२ सय वर्ष बढीको गोर्खा भर्तीको इतिहासमा अहिलेसम्म १३ जना गोर्खा सैनिकहरुले भिक्टोरिया क्रस पदक पाएका छन् । पहिलो विश्वयुद्धमा सहभागि कूलबीर थापा र करणबहादुर राना मगरले भिसी पाएका थिए भने दोस्रो विश्वयुद्धमा सहभागिहरु लालबहादुर थापामगर, गजे घले, तुलबहादुर पुन, नेत्रबहादुर थापा, शेरबहादुर थापा, अगनसिंह राई, थमन गुरुङ, गन्जु लामा , लाछिमान गुरुङ , भनभक्त गुरुङ र रामबहादुर लिम्बुले पाएका हुन् । जसमध्ये जीवित रहेका एकमात्र क्या.रामबहादुर बेघा लिम्बुको पनि निधन भएको छ ।