काठमाडौं। प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको हो ।
प्रचण्डले यसअघि नै दोहोर्याएर विश्वासको मत लिएकामा तेस्रोपटक पनि विश्वासको मत लिनुपर्ने अवस्था आएको छ।
संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले अब फेरि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने देखिएको हो ।
रास्वपाले समर्थन फिर्ता लिएपनी प्रचण्ड नेतृत्वको सरकारसँग बहुमत कायमै रहेको छ ।
रास्वपाबाहेक नै हाल सरकारको पक्षमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसद छन् ।
जसअनुसार प्रचण्डको पक्षमा १५८ सांसद पुग्ने देखिन्छ । जबकि प्रतिनिधिसभामा विश्वासको मत पाउन १३८ सांसद भए पुग्छ ।