काठमाडौं । नेपाली काँग्रेसकी सांसद आरजु राणा देउवाले देशमा फेक न्युज र फेक मिडिया पराकाष्ठामै पुगेको बताइन् । केहीदिनअघि उनी देशबाहिर गएको खबर विभिन्न सञ्चार माध्यमहरूमा आएकोप्रति लक्षित गर्दै राणाले यस्ता मिडियाहरुको नियमन हुनुपर्ने बताइन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै राणाले भनिन्, ‘आज म भौतिक रुपमै यहाँ उपस्थित भएको सबैले देखिरहनुभएकै होला । हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा नै पुगिसकेको रहेछ ।
आफू सामाजिक सञ्जालमा त्यत्ति सक्रिय नहुने बताउदै उनले भनिन् ‘यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको नियमन हुनुप¥यो ।’
यस्तै राणाले नक्कली भुटानी शरणार्थीसम्बन्धी बनाइएको अडिओको चाडै छानबिन नभएको भन्दै प्रश्न गरेकी छन् । ‘मैले ६ दिन अगाडि यस्तै अर्को फेक अडिओ, मेरो नाम लिएर बनाइएको नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता भनेर बनाएको फेक अडिओबारे फरेन्सिक टेष्टका लागि सिआइबी र साइबर क्राइम सेलमा दिएको थिएँ । दर्ता गर्न पनि मानिएको थिएन । सत्ता पक्षको ठूलो नेताको श्रीमती भनेर विश्वास गर्नुहुन्न होला, तर तीन घन्टा लाग्यो दर्ता गराउन । त्यसको जवाफ पनि गृहमन्त्रालयबाट खोज्न चाहन्छु । ६ दिन हुँदा पनि त्यो अडिओ फेक हो कि होइन भनेर किन बताउन सकिएको छैन ?’
उनले उक्त अडियोको रिपोर्ट सुन्न आतुर रहेको बताइन् । ‘अरु जस्तै म त झनै आतुर छु । यो मेरो चरित्रमाथिको बलात्कार हो ।’ योभन्दा अघि पनि धेरै महिलालाई आत्महत्या गर्न बाध्य पारेको छ मिडियाले, म चाहीँ भिक्टिम हुने महिला हैन । सरकारले चाँडै नै यो टेमको सत्यतथ्य उजागर गरोस् ।’