November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

उपेन्द्र यादवको प्रश्न, ‘प्रदेश सरकारहरूलाई प्रहरी हस्तान्तरण गर्ने कि नगर्ने ?’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद उपेन्द्र यादवले संघीयता कार्यान्वयनका पाँच त्रुटि औंल्याएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले त्रुटि औल्याएका हुन् ।

यादवले संघीयताको प्रदेशहरूको नामकरण नै त्रुटिपूर्ण रहेको बताए । उनले नीति कार्यक्रमको बुँदा नम्बर ११ मा संघीयता कार्यान्यन गर्ने उल्लेख गरिएको भन्दै त्रुटि नसच्याइ कसरी संघीयता बलियो हुन्छ भनेर प्रश्न गरे ।

यादवले भने, ‘संघीयताको प्रदेशहरूको नामकरणनै खोलानाला, खोल्साबाट गरिएको छ । यसलाई ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधारमा गर्ने कि नगर्ने? सच्याउने कि नसच्याउने? संविधानको अनुसूचीमा उल्लेख गरिएका अधिकार प्रदेशहरूले प्रयोग गर्न पाइराखेका छैनन् । त्यो दिने कि नदिने?,’ उनको प्रश्न थियो ।

Advertisement

त्यस्तै उनले प्रदेश सरकारहरूलाई प्रहरी हस्तान्तरण या समायोजन गर्ने कि नगर्ने? भनेर पनि प्रश्न गरे भने संघीय निजामती ऐन रोकेर या ढिलाइ गर्दिएर प्रशासन र कर्मचारीको अवस्था बिग्रिएको भन्दै त्यसलाई कसरी पूरा गर्ने भनेर पनि उनले सोधेका थिए ।

यस्तै, अध्यक्ष यादवले सोधे, ‘आर्थिक स्रोत र साधनमाथिको अधिकार नदिइकन र संघीय मन्त्रालयहरूले आफ्नो मुट्ठीमा राखेका क्षेत्राधिकारहरूलाई प्रदेशलाई नदिइकन संघीयता कार्यान्वयन हुन्छ र ?’