काठमाडौं । सरकारले विद्यालय तहका छात्राहरूको निःशुल्क स्यानिटरी प्याडका लागि १ अर्ब ४२ करोड विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रमम आगामी आर्थिक वर्षको बजेटमा विद्यालय तहका छात्राहरूलाई दिइँदै आएको स्यानिट्यारी प्याड निःशुल्क कार्यक्रमलाई निरन्तरता दिने बताएको हो ।
त्यसका लागि सरकारले १ अर्ब ४२ करोड विनियोजन गरेको छ । यो कार्यक्रमबाट १० लाख छात्राहरू लाभान्वित हुने सरकारको अनुमान छ ।
यस्तै, सरकारले आगामी आर्थिक वर्षका लागि सामुदायिक विद्यालयमा दिँदै आएको दिवा खाजालाई निरन्तरता दिन ८ अर्ब ४५ करोड विनियोजन गरेको छ । सरकारले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था पनि गरेको छ । यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बताइएको छ । स्थानीय तथा रैथाने कृषि उपजबाट खाजा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
यसैगरी सरकारले बुढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटी अवलम्बन गरी ५ जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक/एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने अर्थमन्त्री महतले बताए । शैक्षिक गुठीमार्फत नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य अगाडि बढाइने पनि बताए ।
यसैगरी, अब जुनसुकै विषय पढेकाहरुले पनि अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को परीक्षामा सहभागी हुन पाउने भएको छ । यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा दिन पाउँथे ।
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।