काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्। दुई–तीन दिनदेखिको लगातार वर्षाका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, संखुवासभामा व्यापक असर गरेको कारण तत्काल उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीले निर्देशन गरेका हुन् ।
बाढी, पहिरोमा अहिलेसम्म २५ जना बेपत्ता छन्। एक जनाको शव फेला परिसकेके छ। ‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्छु, साथै, बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपिल गर्छु,’ प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान फेसबुकमार्फत् निर्देशन दिएका छब्।
अविरल वर्षाको कारण मेची राजमार्ग अन्तर्गत फिदिम ४ स्थित हेंवा खोलाको पक्की पुल बाढीले बगाएको छ । त्यसैगरी तमोर करिडोरको बेलिब्रिज पनि बगाएको छ । पाँचथरका राजनीतिज्ञ तथा समाजसेवी नरेन्द्र केरुङले फेसबुकमा अपडेट गरेअनुसार फालेलुङ ७ थोकपन- वडा ३ मच्छेबुङ मोटरेवल पुल र याङवरक– १, च्याङथापुमा ४ घर बाढीले बगाएको छ । बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्।
फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरूङले जानकारी दिए। वर्षातले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुलसमेत बगाएको छ। पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको छ । तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ। याङ्वरक गाउँपालिका-२ र ३ मा घर बगाएको स्थानीयले बताएका छन् । यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ।
यस्तै, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन्।
यस्तै मेहेलेकै भरत तामाङ बेपत्ता भएको स्थानीयले बताएका छन्। खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ। मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ। यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ ।
अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकामा क्षति पुगेको छ। तर, ठूलो वर्षा भएकाले उद्धारमा कठिनाइ भएको छ । याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ।
मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन्। थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ।