काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको बताए । बुधबार दिउँसो माओवादी केन्द्रसम्वद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो आरोप लगाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ । खासमा यसको अर्थ अर्कै छ । मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूचि थियोे । कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छैन । भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ ।’
प्रधानमन्त्री प्रचण्डले माओवादी धाराका सबै शक्तिहरू एकतावद्ध हुँदै गएको र माओवादी पार्टी २०८४ मा २०६४ भन्दा शक्तिशाली बन्ने पनि बताए ।‘ हामी एउटा लडाइँमा छौँ, सुशासनको लडाइँ, भ्रष्टाचारविरूद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ । विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ । तर, अहिले परिस्थिति फेरिएको छ । माओवादी धाराका सबै शक्तिहरू एकतावद्ध हुँदैछौँ । २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ’, उनले भने ।
उनले युवाहरूलाई संगठित गर्ने, प्रशिक्षित गर्ने कुरा महत्त्वपूर्ण कुरा भएको भन्दै युवाहरुमा विश्वास गरेर आफूहरु नयाँ ढंगले अगाडि बढ्ने पनि बताए । ‘तपाईं महिला युवाहरू पनि देशको सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा लाग्नुस् ।’, उनले आग्रह गरे ।
प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको बताए । उनले भने, ‘विद्युत व्यापार सम्झौता सामान्य कुरा होइन । १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ । सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।’