November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीविरुद्ध प्रतिपक्षी सर्वोच्चमा

विराटनगर । कोशी प्रदेशको नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा सर्वोच्च पुगेको छ ।

नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च अदालतमा पुगेको हो । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमालेले अदालतको ढोका ढकढक्याएको हो ।

एमालेले निवेदनमा संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।

Advertisement

बिहीबार सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर बहुमतको सरकारमा दाबी गरेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुख बाहेक सत्तारुढ गठबन्धनमा ४६ जना मात्रै सांसद छन् ।

सभामुखलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए । उनले शुक्रबार बिहान सपथग्रहण गरी कार्यभार सम्हालेका छन् ।

सभामुख बाबुराम गौतमले भने आफूले राजनीतिक निकास दिनका लागि हस्ताक्षर गरेको बताएका छन् ।