काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताएका छन् ।
बिहीबार बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कूलिङ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई द्वन्द्वमा फसाउन परिवर्तनका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका हुन्।
उनले भने, परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र हुँदैछ। त्यसमा प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ । उक्त षड्यन्त्रको गणतन्त्र पक्षधर र १२ बुँदेका पक्षधर दलहरुले एक ठाउँमा उभिएर जवाफ दिने उनले बताए ।
उनले गणतन्त्रका पक्षधरहरु व्यवस्थाको रक्षा, र सुदृढीकरणका निम्ति दृढता साथ लागिरहनेसमेत प्रतिवद्धता व्यक्त गरे ।