काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले नेपालमा अझै शक्तिशाली भूकम्पको जोखिम कायमै रहेको बताएका छन् ।
एक अनलाइनसँग कुराकानी गर्दै उनले नेपालको पश्चिम क्षेत्रमा झन्डै ५ सय वर्षदेखि महाभूकम्प नगएकोले ठूला भूकम्पको जोखिम रहेको बताएका हुन् ।
भूकम्पको असर अध्ययनका लागि डा.अधिकारी हाल जाजरकोट पुगेका छन् । अधिकारीका अनुसार कर्णाली प्रदेशमा गएको भूकम्प नेपालमा यसअघि गइरहने भूकम्पजस्तै रहेको र नेपालको भौगोलिक अवस्थाअनुसार जमिनमुनी रहेको दक्षिण तर्फको इन्डियन प्लेट उत्तरतर्फको प्लेटसँग घर्षण हुँदा हुने शक्ति सञ्चयका कारण उत्पन्न हुने क्रम नै बेला बेला भूकम्प जानु हो ।
जाजरकोटमा करिब १५ किलोमिटर जमिनमुनिबाट सञ्चितशक्ति निस्किएको बताउँदै यस्ता भूकम्प जानका लागि गोरखादेखि पश्चिम र देहरादुनदेखि पूर्वको भागमा करिब ५ सय वर्षदेखि महाभूकम्प नगएकोले त्यसबेलादेखिको सञ्चित शक्ति निस्किरहने उनले बताएका हुन् ।