November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

समाज सुधारक लिङ्देनको ‘सत्य धर्म मुचुल्का’ समाज सुधारको नमुना

लेखनाथ सिकारु
२०८० कार्तिक २५

काठमाडौं ।  १६ औ राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ति आज उनको कर्मभूमि पाँचथरसहित देशका विभिन्न भागमा विभिन्न कार्यक्रमका साथ मनाइदै  छ । विक्रम सम्मत १९४२ कार्तिक २५ गते इलाम जिल्लाको तत्कालीन इभाङ ५ चुक्चिनाम्वा (हाल माङसेवुङ २) मा जन्मेका  नरध्वज लिङदेन सिकिस्त बिरामी परेपछि निको हुने जनविश्वासका आधारमा फलामका चुरा लगाइदिए पछि  फलामसिं हुँदै  कर्मले फाल्गुनन्द भएर उदाएको पाइन्छ  ।

१६ वर्षमा बर्मामा  व्रिटिश सैनिकको रुपमा काम गर्न थालेका उनले युद्धमा काटमार र मानव मानवको हत्या हिंसा देखेपछि उनी मानव-मानव बीचको लडाइ, मारामारबाट विश्व शान्ति नहुने भन्दै  सैनिक जागिर समेत छाडेर नेपाल फर्किएका थिए । त्यसपछि उनी पाँचथरको अहिलेको फिदिम नगरपालिका ३ चोकमागु लगायतका क्षेत्रमा लिम्बू समुदायमा भएको धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति विसंगति र सुधार गर्नुपर्ने पक्षका बारेमा सचेतना जगाउने काममा लागेका थिए । 

८ वर्षकै उमेरबाट हत्या हिंसा गर्न नहुने , झुटो बोल्नु नहुने, नारीहरू सृष्टिकर्ता भएकोले उनीहरुलाई समाजमा उच्च सम्मान दिनुपर्ने, आफ्ना कुलदेवतालाई चोखोनितो  भई बिहानबेलुका पूजा आराधना गर्नुपर्ने, मासु मांस तथा मदिरा पान गर्न नहुने साथै देवीदेवतालाई मासु मंश र मदिरा चढाउनु नहुने जस्ता कुराहरु अभियानकै रुपमा सञ्चालन गरेका थिए । 

Advertisement

उनले तत्कालीन अवस्थामा धर्म संस्कार र संस्कृतिको रुपममा देखिएका विकृति विसंगती र कुरीतिहरूलाई संसोधन गरी राम्रा  रीतिरिवाजको संरक्षण र खराबकुराहरुलाई सच्याउनु पर्ने भन्दै   विक्रम सम्वत् १९८८ वैशाख २५ गते तत्कालिन १० लिम्बुवान १७ थुमका सामाजिक व्यक्तित्वको भेला गराइ पाँचथर जिल्लाको फिदिमस्थित लव्रेकुटिमा धर्म, संस्कार र संस्कृतिमा देखा परेका विकृति कुरीति र कुसंस्कारविरुद्ध १० बुँदे ‘सत्य धर्म मुचुल्का’ तयार गरी  प्रचारप्रसारका साथै लागू गरेका थिए ।

ताप्लेजुङसँग जोडिएको कुम्भकर्ण हिमशृङ्खलालाई किराँतीहरूको पवित्र धार्मिक स्थल तथा तीर्थस्थलको रुपमा विकाससमेत गरेका थिए भन्ने किराँतीहरू बताउने गर्छन् । सोहीअनुरूप अहिलेसमेत किराँतीहरूले कुम्भकर्णलाई पवित्र स्थलको रुपमा आराधना गर्ने गरेका छन् । यद्यपि कुम्भकर्ण याक्थुङ मुन्धुममा नै उल्लेख भएको पाइन्छ। मुन्धुममा विश्वास गर्ने याक्थुङ (लिम्बु)हरू यसलाई फक्ताङ्लुङको नाममा पवित्रस्थलको रुपमा लिने गर्छन् । फाल्गुनन्दले त्यसबेला यससमेत यसस्थललाई आन्तरिक तथा वाह्य  पर्यटनलाई बढावादिने प्रयास गरेको पाइन्छ । किराँत धर्म र संस्कृतिको प्रचारप्रसार गर्दै भारत, भुटान र  नेपालका विभिन्न स्थानमा भ्रमण गरेका उनले तत्कालीन अवस्थामा देशद्रोहीको आरोपसमेत खेप्नु परेको थियो ।

लिङदेनको विक्रम सम्वत् २००५ मा पाँचथरको साविक इम्वुङ गाविस (हाल फाल्गुनन्द गाउँपालिका २ ) हाङयक भन्ने स्थानमा निधन भयो ।  उनको निधनपछि किराँत धर्म संस्कार र संस्कृति मान्ने साथै उनको समाज सुधारको अभियानलाई मान्ने संघसंस्थाले कार्तिक २५ गते जन्मजयन्ती मनाउँदै आएका छन् । लिङदेको समाज सुधारको महान कार्यको सम्मान गर्दै  नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको समाज रुपान्तरणको अभियानलाई महत्व दिइएको छ । सरकारले उनको  स्मरणमा २०५० सालमा रु १५ को हुलाक टिकट प्रकाशनमा ल्याएर  सम्मान  गरेको छ । यस्तै उनको सम्मानस्वरुप पाँचथर जिल्लामा एक गाउँपालिकाको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ । दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ । 

समाजको आर्थिक समाजिक सांस्कृतिक सुधारमा लागेका फाल्गुनन्दका ‘पापले सकिन्छ धर्मले बढिन्छ, बोलेन भने झगडा हुँदैन, हजारौं तारा भएर के हुन्छ? एउटा जूनले काम चल्छ, खराब धेरै छोरा भएर के हुन्छ? एउटा असल  सन्तानले घर सुहाउँछ’ जस्ता समाज सुधारका उपदेशहरु अहिलेसमेत उपयोगी र समय सापेक्ष छन् ।

आफ्नो मौलिकतालाई बिर्सेर पथ भ्रष्ट हुनु हुन्न, धर्म संस्कार र संस्कृतिका नाममा तडकभडक गर्नु हुन्न,आफ्नो गच्छे अनुसार धर्म, संस्कार र संस्कृति मनाउनु पर्छ, मदिरा सेवन गरी आर्थिक र समाजीक रुपले भ्रष्ट हुनु हुन्न, अरुलाई खुशी तुल्याउन अरुको ज्यान लिनु हुन्न अर्थात पशु वलि चढाउनु हुन्न, भगवानको पूजा आराधना त नैवेद्य तथा फलफुल चढाएर गर्नुपर्छ जस्ता सामाजिक चेतना फैलाएर समाज सुधारमा लागेका फाल्गुनन्दको समाज सुधारको नीति विश्व सामु अनुकरणीय छ ।

राष्ट्रिय विभूति किराँत धर्मका पथप्रदर्शक अहिंसाका पूजारी मानव कल्याण र विश्व शान्तिका पक्षधर साधक तथा दार्शनिक फाल्गुनन्दको कर्मभूमि तथा तपोभूमि पाँचथरको लब्रेकुटी उनको समाधिस्थल हरेको छ । यसलाई किराँत धर्मका अनुयायीहरुले पवित्र भूमिको रुपमा मान्ने गरेका छन् । 

नेपाल सरकारले राजा जनक, सीता, गौतम बुद्ध, अंशु वर्मा, राम शाह, पृथ्वीनारायण शाह, भीमसेन थापा, अमरसिं थापा, वलभद्र कुंवर, भक्ति थापा, त्रिभुवन, कलाकार अरनिको, युवाकवि मोतिराम भट्ट, आदिकवि भानुभक्त आचार्य, समाज सुधारक शंखधर साख्वा, महिला पर्वतारोहि पासाङ ल्यामु शेर्पा पछि समाज सुधारक महाँगुरु फाल्गुनन्द लिङदेनलाई १६ औं  राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको छ ।

पर्वकै  रुपमा फाल्गुनन्द जयन्ती मनाइँदै
किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गतेलाई विशेष पर्वका रुपमा मनाउने गरिएको छ । फाल्गुनन्दको १३९ औँ जन्मजयन्तीका अवसरमा लिम्बू समुदायको बसोबास रहेका पूर्वी नेपालका विभिन्न जिल्लाहरुसहित राजधानी काठमाडौं र विदेशमासमेत उनकाे सम्झना र सम्मानमा विविध धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गरिएका छन् ।

 

फाल्गुनन्दका प्रमुख कार्यहरु
फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भएपनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले समान श्रद्धा र आस्था राख्ने व्यक्तित्व हुन् । 
उनले तयार पारेको  सत्यधर्म मुचुल्का तत्कालिन अवस्थामा सबैभन्दा महत्वको विषय हो । लिम्बू समुदायका परम्परा भित्रका कुसंस्कारहरुलाई परिवर्तन गर्न तत्कालीन १० लिम्बुवान क्षेत्रका शासक, विद्वान र धार्मिक-सामाजिक अगुवाहरुलाई वि.स. १९८८ साल बैशाक १० गते पाँचथरको फिदिमा भेला गराई फाल्गुनन्दको अगुवाईमा सत्यधर्म मुचुल्का खडा भएको थियो । 

सत्यधर्म मुचुल्कामा छोरी चेलीको विबाह गर्दा सोत-रीत (पैसा) लिनु नहुने, भगवानको पूजागर्दा प्राणीको हत्या गर्न नहुने, मद्यपान र मासु सेवन कम गर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्ने जस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक/साँस्कृति कपक्षहरु समेटिएका छन् । 
सत्यधर्म मुचुल्का र समाजसुधार
सत्यधर्म मुचुल्का निर्माण भएको दिन बैशाक १० गतेलाई समाज सुधार दिवसको रुपमा मनाउने गरिएको छ । सत्यधर्म मुचुल्काले किराँत समुदायको धार्मिक, साँस्कृतिक र पारम्परिक पक्षलाई सुधार गर्ने महत्वपूर्ण प्रयत्न गरेको किराँत समुदायका अगुवाहरुको भनाई छ ।

यस्तै, लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्नेमा मुचुल्काले जोड दिएको पाइन्छ  । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवानको सन्तानको रुपमा ब्याख्या गर्ने प्रयास गरेको छ । शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोडदिएको छ । 
मादकपदार्थ तथा मदिरा सेवनले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकोले यसको सेवननगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि पनि यसको सान्दर्भिकता अझै बढ्दै गएकाे छ ।

प्रकृति प्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको पार्दुभाव गर्न फाल्गुननन्दको विशेष भूमिका रहेको मानिन्छ । त्यस्तै, किराँत समुदायलाई रुढीवादी परम्पराबाट बाहिर ल्याउन पनि फाल्गुननन्दको ठुलो भूमिका छ । त्यसैले पनि वर्षौपछि पनि विशेष गरि किराँत समुदायसहित साे क्षेत्रमा उनकाे फाल्गुननन्दको चर्चा निकै चल्ने गरेको छ ।
उनले दिएका दिव्य ज्ञान अनि परम सत्य वचनहरूले आज पनि मानव जीवनको विभिन्न कालखण्डमा सत्मार्ग देखाउने गरेको पाइन्छ । यी नै सामाजिक अनि आध्यात्मिक चिन्तक फाल्गुननन्दको सम्झनामा र सम्मानमा आजकाे दिन थुप्रै स्थानिय निकायले सार्वजनिक बिदा नै दिने गरेकाे छ ।