November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

यो व्यवस्था उल्ट्याउन खोज्नु सपना मात्रै: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो व्यवस्था उल्ट्याउन खोज्नु सपना मात्रै भएको बताए । बुधबार काठमाडौंमा शंखधर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले संघर्षले अहिलेको व्यवस्था आएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘यो व्यवस्था ल्याउन हजारौंले रगत बगाएका छन्, जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो । तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन।’

पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोजेको भन्दै उनले अहिले पनि त्यही कोसिस हुँदै गरेको आरोप लगाए। ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ। यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले चेतावनी दिए।

Advertisement

अहिलेको व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने पनि उनले बताए।

कार्यक्रममा प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक संवत् भएको पनि बताए। उनले भने, ‘हामीले विक्रम संवत् प्रयोग गरिरहेका छौं। कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ। तर नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो ।’