काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ एकैजनाले १ सय १५ प्रति खरिद गरि वितरण गरेका छन् । रोजगारीको सिलसिलामा कोरिया रहँदै आएकी अनिला राईले ८६ हजार २ सय ५० को पुस्तक खरिद गरी खोटाङका नगरपालिका तथा विभिन्न विद्यालयमा वितरण गरेकी हुन् ।
केपिलासगढी वडा नम्बर ५ निवासी राई बिगत ६ बर्षदेखि कोरियामा रहँदै आएकी छिन् । उनका अनुसार खोटाङ जिल्लाभरका १ सय १ वटा माध्यमिक विद्यालयमा एक/एक थान, आफैले अध्यय गरेको विद्यालय श्री सप्तेश्वर छेरा डाँडा आधारभूत विद्यालयमा एक प्रति, रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका र ८ वटा गाउँपालिकामा एक/एक थान गरी जम्मा ११२ थान पुस्तक वितरण भएको हो । पुस्तकको मुल्य प्रतिगोटा ७५० रहेको छ ।
पुनको आविष्कार केन्द्रलाई सहयोग गर्ने उदेश्यले पुस्तक खरिद गरी वितरण गरेको अनिलाको भनाइ छ । ‘आविस्कार केन्द्रलाई आर्थिक सहयोग र माहावीर पुनको अभियान हाम्रो जस्तो विकासोन्मुख देशमा अत्ति आश्यक छ। यो अभियानमा हामी सम्पूर्ण नेपाली आ-आफ्नो तर्फबाट जोडिनु पर्छ, राईले भनिन, ‘साथै देश चलाउने पछिल्ला पुस्ता अहिले विद्यालयमा अध्यनरत भाइबहिनीहरू हुन् । उनीहरुमा १० कक्षा पास गरेसी काम गर्न हो या पढ्न भन्ने बाहानामा झोला बोकेर विदेश जाने मात्र नभइ आफ्नो देशमा पनि सम्भावनाहरु को पहिचान गरी समाज परिवर्तन गर्न आफ्नै माटोमा पसिनाको लगानी गर्नु पर्छ भन्ने चेतना जागरण होस र विदेशिनेको संख्या कम होस् भन्ने उदेश्यले पुस्तक खरिद गरी वितरण गरेकी हुँ ।’
सार्वजनिक अघि नै अनलाइनमार्फत प्रि-अर्डर गर्ने व्यवस्था रहेको यस पुस्तकको प्रकाशक राष्ट्रिय आविष्कार केन्द्र रहेको छ । पुस्तक दराज र अमेजनबाट खरिद गर्न सकिने व्यवस्था रहेको छ।